सीमित समूहले पुँजी बजारमा इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब दुरुपयोग गरे – अर्थमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३
1.2K
SHARES

२९ बैशाख काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको टिप्पणी गरेका छन् । आर्थिक र राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास भएको उनको भनाइ छ ।

मंगलबार अर्थ समिति बैठकमा मन्त्री वाग्लेले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको कब्जामा गएको कटु यथार्थ रहेको बताए । नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर राजनीतिक नेतृत्वसम्म प्रभावित पार्ने अवस्था सिर्जना भएको उनको टिप्पणी छ ।

संस्थान र पुँजी बजारसम्बन्धी पनि धेरै रिफर्महरू गरिराखिएको छ । स्टक एक्सचेन्जको पुनः संरचनाको लागि गठन गरिएको एउटा समितिले जुन प्रतिवेदन दिएको छ, त्यसलाई हामी कार्यान्वयन गर्छौं ।

हिजो पनि स्टक मार्केट, पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको छ राष्ट्रपतिमार्फत र यसलाई बजेटमा हामी थप आकार दिन्छौँ । यसलाई हामी प्रोफेसनलाइज गरेर एउटा विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्डलाई पछ्याउने गरेर नै अगाडि जाने हो ।

तर, विगत केही वर्षमा यी संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्दछ । १५ अर्ब, १६ अर्बको जनताको पैसाको अपचलन गरेर, मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकुत सम्पत्ति जम्मा गरेर, राजनीतिलाई प्रभावित गरेर, केही प्रभावशाली नेताहरूलाई त उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू त कब्जामा भए भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा असाध्यै कटु यथार्थ थियो ।

जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनैपर्छ । त्यो हस्तक्षेप नभएको भए हामी साच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौँ र अहिले मुलुकले नयाँ कोर्समा गएको छ र सुशासनलाई हामीले ठूलो प्राथमिकताका साथ अगाडि बढाएको कारण र सम्माननीय प्रधानमन्त्रीज्यू त के भन्नुहुन्छ भने यो विकास निर्माण भन्या दोस्रो वर्षदेखि गरौँ, पहिलो वर्ष त सुशासन, सुशासन, सुशासन । त्यो जग बसालौँ, त्यसपछि त अरु त झन्डै–झन्डै स्वचालित ढंगले अगाडि बढिहाल्छ ।