नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ – नेकपा


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३
722
SHARES

४ जेष्ठ काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभा नियमावलीले संसद्को मर्यादा, अनुशासन र सर्वोच्चतालाई सुदृढ बनाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदनमाथि छलफलका क्रममा बोल्दै संसद्लाई जनताको आवाज बोल्ने प्रभावकारी थलोका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए।

उनले नियमावली निर्माणका क्रममा दुई पक्षमा विशेष ध्यान दिनुपर्ने बताए। पहिलो, संसद्को अधिकार, संसदीय सर्वोच्चता र असल अभ्यासलाई संरक्षण गर्नुपर्ने र दोस्रो, समयअनुसार कार्य सञ्चालनलाई व्यवस्थित, चुस्त र जनताप्रति जवाफदेही बनाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘नकारात्मक हिसाबले संसदीय व्यवस्थामाथि धेरै प्रश्नहरू छन्, टीकाटिप्पणी हुने गरेको छ। यो गफ गर्ने अखडाको रूपमा पनि यसलाई आलोचना गरिन्छ। त्यसकारणले यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो र जनताका प्रतिनिधिहरूको मर्यादित स्थान हो।’

उनले सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन नियमावली प्रभावकारी हुनुपर्नेमा जोड दिए।प्रधानमन्त्री र मन्त्रीहरूले जनताका आवाज र भावनालाई सम्बोधन गर्नुपर्ने तथा संसद्मा उठेका विषय निर्णय प्रक्रियासम्म पुग्ने सुनिश्चितता गर्नुपर्ने बताए।