मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ७ २०८३
836
SHARES

७ जेष्ठ जनकपुर । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा कम भएकाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालय, तथ्यांक समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो ।

यसपटक पर्याप्त मात्रामा पानी नपरेका कारण धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव पारेकाले विगत तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने तथ्यांक अधिकृत नरबहादुर कुँवरले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ मा भने मधेसमा ३. १८ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशत आर्थिक वृद्धि रहेको थियो । लगातार दुई वर्षयता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव पारेका कारणले आर्थिक वृद्धि दर खस्कँदै गएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३.०१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्यांक सार्वजनिकीकरण कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताए ।  आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने बताए । रासस