महासचिव शंकर पनि पार्टी पुनर्गठनको पक्षमा खुले


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ९ २०८३
1.1K
SHARES

९ जेठ काठमाडौं । नेकपा एमालेको आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुलेका छन् । अहिलेसम्म बोलेका नेतामध्ये ओलीको बचाउमा उपाध्यक्ष बादल र सचिव महेश बस्नेतमात्र खुलेका छन् ।

आज बोलेका पदाधिकारीमध्ये बस्नेतबाहेक सबैले पार्टी यथास्थितिबाट नचल्ने भन्दै निकासका लागि मार्ग प्रशस्त गरेरै अघि बढ्नुपर्ने ओलीलाई सुझाएका छन् ।

महासचिव शंकर पोखरेलले पनि कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिन अध्यक्षलाई निकास दिनुस् भनेर आग्रह गरेको एक पदाधिकारीले बताए ।अब भोलि बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले कुरा राख्ने ती पदाधिकारीले बताए ।

ती पदाधिकारीले  भने, ‘अधिकांशको लाइन अध्यक्षज्यूले मार्ग प्रशस्त गरेरै अघि बढ्नुपर्छ भन्ने छ । अहिलेसम्म बादल र महेश कमरेडमात्र उहाँसँग दरिलोसाथ उभिनुभयो । बोल्नेहरूले प्रस्तुति फरक होला तर पार्टी यसरी नचल्ने बताएका छन् । अब बोल्न बाँकी ४ जनाको पनि करिबकरिब लाइन त्यस्तै बुझिन्छ ।’

हिजो पहिलो दिन कुरा राखेका ५ उपाध्यक्षमध्ये ४ जनाले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर अघि बढ्नुपर्ने सुझाएका थिए । आज बैठक सुरू हुनुअघि महासचिव शंकर पोखरेलले आफूनिकटका पदाधिकारीसँग छलफल गरेर आफ्नो लाइन दिएको स्रोतको भनाइ छ ।

१९ सदस्यीय पदाधिकारीमा अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने पक्षमै एकमत देखिएका छन् ।गत मंसिरमा आफूले अघि सारेका पदाधिकारीहरू नै अहिले ‘सरप्राइज’ दिने गरी बहिर्गमन दिएपछि ओली केन्द्रीय कमिटीमा बहुमत पुर्‍याउने रणनीतिमा देखिएका छन् । उनले हिजोको बैठकमा केन्द्रीय कमिटीमा छलफल गर्न सकिने बताएका थिए ।