जेनजी आन्दोलनपछि संविधान ‘कोमा’मा छ – नेता गुरुङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १९ २०८३
1.2K
SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवराज गुरुङले २०८२ भदौको जेनजी आन्दोलनपछि नेपालको संविधान ‘कोमा’ पुगेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संविधान नाममा मात्रै सीमित भएको तथा बहुदलीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयन शून्यप्राय अवस्थामा रहेको टिप्पणी गरे । उनले विश्वमा बढ्दो युद्ध र साम्राज्यवादी हस्तक्षेपविरुद्ध उत्पीडित राष्ट्रहरूबीच बृहत्तर सहकार्य आवश्यक रहेको बताए ।

नेपालसहित एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मुलुकहरू साम्राज्यवादबाट प्रभावित रहेको दाबी गर्दै शान्ति, स्थिरता र दिगो विकासका लागि आपसी समझदारी र सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले विश्वका स्वतन्त्र राष्ट्रहरूले आ–आफ्नो संविधान, कानुन, अर्थतन्त्र र मूल्य–मान्यताअनुसार शान्ति र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए ।

“नेपालको संविधान, नेपालको डेमोक्रेसी त एक प्रकारले सिध्याइसकेको छ । जेनजी आन्दोलनदेखि संविधानलाई कोमामा पुर्‍याइसकेको छ । अहिले संविधान नाम मात्रको छ, कुनै पनि कार्यान्वयन भएको छैन,” उनले भने ।  उनले संविधान र व्यवस्थाको रक्षाका लागि सबै गम्भीर हुन जरुरी रहेको बताए ।