संविधान संशोधनमा अग्रसरता लिन्छौँ – सभापति थापा
२५ असार काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनका विषयमा नेपाली कांग्रेसले अग्रसरता लिने बताएका छन् । बिहीबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले संघीयतामा ठूलो परिमार्जन चाहिएको बताए । “संघ रहन्छ, प्रदेश रहन्छ र स्थानीय तह पनि रहन्छ,” सभापति थापाले भने, “संघको पनि संसद्को आकार घटाउने, मन्त्रिपरिषद्को घटाउने, प्रदेशको घटाउने, प्रतिनिधित्व बढाउने यी सबै विषयमा कांग्रेसले छलफल गर्नुपर्ने छ । आवश्यकताअनुसार संशोधन गर्नुपर्छ भन्ने ठान्छ र हामी गर्छौं । यसको हामी अग्रसरता लिन्छौँ ।”
यो हटाइदेउ त्यो हटाइदेउ भनेर नेपाललाई अनावश्यक द्वन्द्वमा फसाउन नहुने उनको भनाइ छ । “अहिलेको सबैभन्दा ठूलो कुरा भनेको सुशासन र डेलिभरीसँग जोडिएको छ,” उनले भने, “नेपाली कांग्रेस पार्टीले आफ्नो प्रतिज्ञापत्रमा स्पष्टसँग भनेको छ कि सुशासनको सन्दर्भमा कानुनको जरा संविधानमा छ त्यहाँसम्म जान तयार छ ।”
संवैधानिक नियुक्तिमा चेक एन्ड ब्यालेन्सका लागि संवैधानिक परिषद् बनाएको भएपनि भागवण्डामा रुमलिएको सभापति थापाको भनाइ छ । प्रधानमन्त्रीको गतिविधिलाई समेत निगरानी गर्ने अख्तियारमा अब प्रधानमन्त्रीलाई देख्दा थुरथुर काप्ने मान्छे प्रमुख भएर आउने डर भएको पनि उनले उल्लेख गरे । “अख्तियार प्रमुखले प्रधानमन्त्री देख्नासाथ सलाम साब भनेर स्यालुट हान्ला भन्ने डर भएन हामीलाई,” उनले भने ।