घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व ?


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ४ २०८३
741
SHARES

४ साउन काठमाडौँ । घरजग्गा कारोबारबाट असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२–८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो ।

विभागले वर्षभरको राजस्व सङ्कलनको विवरण उपलब्ध गराएको छ । विवरणअनुसार गत वैशाखमा छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८ सय ७३ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो ।

विभागका अनुसार २०८२ साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर तीन अर्ब १४ करोड सात लाख १६ हजार ३ सय ३५ रुपैयाँ बराबर मात्रै प्राप्त भएको थियो ।

यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९ सय २७ रुपैयाँ र कात्तिकमा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।

मङ्सिरमा चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८ सय ३२ रुपैयाँ, पुसमा पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २ सय २२ रुपैयाँबराबर राजस्व सङ्कलन भएको थियो ।

माघमा पाँच अर्ब ९९ लाख २४ हजार ५ सय ३६ रुपैयाँ र फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९ सय ३२ रुपैयाँ घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।

त्यसैगरी, चैतमा छ अर्ब १६ करोड ५७ लाख ५० हजार १ सय १७ रुपैयाँ, वैशाखमा छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८ सय ७३ रुपैयाँ र जेठमा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १ सय १ रुपैयाँ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।

गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व सङ्कलनमा पनि वृद्धि भएको थियो । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ ।

सोही कारण गत असारमा ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको विवरणमा समावेश छ । कारोनाकाल र गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट गत असारमा सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताइन्छ ।