नेप्सेमा ४१.७० अंकको उत्साहजनक वृद्धि
४ साउन काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार उत्साहजनक देखिएको छ । सोमबार (साउन ४) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले वृद्धि भई २,७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ । बजार खुलेदेखि नै उतारचढावबीच सकारात्मक रहेको नेप्से अन्तिम समयमा उच्च अंकले बढेको हो ।
यस दिन बजारमा कुल ३४३ कम्पनीका एक करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ६७ हजार १५५ पटक कारोबार भयो । पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँबराबरमा सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । २३९ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
समग्र बजारमा हरियाली छाए पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य घाटा व्यहोरेका छन् । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट देखिएको छ । यो कम्पनीको सेयर मूल्य ६.८६ प्रतिशत (४२० रुपैयाँ)ले घटेर प्रतिकित्ता पाँच हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, लुम्बिनी इक्विटी फन्ड, आरबीबी डिबेन्चर, नबिल ब्यालेन्स फन्ड २ कम्पनीको सेयर मूल्य घटेको छ । अपि पावर कम्पनी लिमिटेड २९ करोड १५ लाख ५२ हजार रुपैयाँभन्दा बढीको कारोबारका साथ अग्रस्थानमा छ । योसँगै नाफा कमाउने कम्पनीमा इस्टर्न हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले उच्च आम्दानी गरेका छन् ।