प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ५ २०८३
513
SHARES

५ श्रावण काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको र श्रीमतीको नाममा जग्गा खरिद गरेको भन्दै एक करोड ७१ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

अधिकारीले प्राधिकरणबाट आह्वान गरेको बोलपत्रमा सहभागी भएका कम्पनी तथा कम्पनीका सेयरधनी लगायतका व्यक्तिहरू समेतको खाताबाट जग्गा बिक्रेतालाई रकम भुक्तानी गरी श्रीमतीको नाममा जग्गा खरिद गरेको खुलेको थियो।

यसरी १ करोड ७१ लाख रूपैयाँ घुस बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालसमेतबाट लिएको पुष्टि भएको अख्तियारको दाबी छ। यसरी लिएको रकमबाट श्रीमतीको नाममा ललितपुरमा १३ कित्ता जग्गा खरिद गरेको पाइएको छ। अधिकारीविरुद्ध यो विषयमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी दुवै कसुरमा सजाय माग दाबी लिइएको छ।

दुवै कसुरमा बिगो समान १ करोड ७१ लाख कायम गरिएको छ। यस्तै गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेमप्रकाश ढकालविरुद्ध पनि सोही कसुरमा सजाय माग गरिएको छ। उनले नै अधिकारीलाई घुस दिएको आरोप छ।

उनको कम्पनी र उनलाई समेत गरी १ करोड ७१ लाख बिगो कायम गरिएको छ। प्रदीप अधिकारीकी श्रीमतीको नाममा खरिद गरेको ललितपुरको १३ आना जग्गा पनि जफत गर्न माग गरिएको छ। अधिकारी नलिनचोक हेलिपर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन्। त्यसपछि पोखरा विमानस्थल भ्रष्टाचारमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ।