विप्लव समूह राजनीतिक सहमतिमा आउनु पर्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २० २०७५
7.5K
SHARES

२०फाल्गुन काठमाडौं। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने चेतावनी दिएका छन् ।विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको भन्दै उनले छिट्टै समाधान निस्कने दाबी गरे ।सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको बताए । उनले भने, अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ ।’

सरकारले राजनीतिक रुपले सहमतिमा आउने हदसम्म सहमतिको प्रयास गरेको र भविश्यमा पनि गर्ने उनले बताए । नभएसरकारले प्रशासनिक रुपमा समाधान खोज्ने भन्दै उनले भने, ‘तपाईहरु हेर्दै जानुहोला, यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’

हतियार चोरी भएको थियो

तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएको बताए । केहीदिन अघि धरानमा नेपाली सेनाबाट लुटिएको हतियार विप्लव समूहको कार्यकर्ताबाट बरामद भएको सिथयो ।

यसबारे सोधिएको प्रश्नमा उनले क्यान्टनमेन्टमा राखिएको हतियार चोरी भएको र त्यो सूचना तत्कालीन सरकारलाई दिएको बताए । त्यसबाहेकका सबै हतियार व्यवस्थापन गरेको भन्दै प्रचण्डले भने, ‘अब त्यो (लडाकू शिविर) भन्दा बाहिर कसैले लुकाएर राखेको थिए भने हामी जिम्मेवार हुन सक्ने होइन ।’
विप्लव समूहबाट हतियार बरामद हुनु समान्य घटना भएको भन्दै उनले त्यसलाई हतियार व्यवस्थापनको समस्या हल नभएको रुपमा प्रचार गर्नु उचित नहुने बताए ।