जनप्रतिनिधिले थाक्न पाइँदैन : श्रममन्त्री विष्ट
१० जेष्ठ काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनप्रतिनिधिलाई थाक्ने र बिरामी नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रम, ३ नम्बर प्रदेशको त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि विष्टले जनप्रतिनिधिलाई थाक्ने र बिरामी हुने अधिकार नभएको बताएका हुन् । प्रदेश नम्बर ३ का स्थानीय तहका प्रमुख र उपप्रमुखप्रति लक्षित गर्दै मन्त्री विष्टले जनप्रतिनिधिले थाक्न नपाउने र निरन्तर जनताको पक्षमा काम गर्नुपर्ने बताएका हुन् ।
मन्त्री विष्टले भने, ‘हामी जनताका प्रतिनिधि हौँ । हामीलाई चुनावको बेला जनतासँग गरेको वाचा पूरा गर्नुपर्ने दायित्व छ । जनताका सानाभन्दा साना समस्यालाई पनि समाधान र सहजीकरण गर्नु हाम्रो दायित्व हो ।’‘अन्तिम वर्ष निर्वाचनको समय भएकाले त्यतिबेला चुनावमै लाग्नुपर्छ होला । तर हामीसँग काम गर्नका लागि अझै २ वर्ष बाँकी नै छ । यो समय भनेको हामीले विकास निर्माण र सामाजिक आर्थिक परिवर्तनका लागि काम गर्ने समय हो । यसकारण हामी थाक्न पाउँदैनौं, बिरामी हुन पाउँदैनौं । हामीले निरन्तर जनताका पक्षमा काम गर्नुपर्छ,’ उनले भने ।
वार्षिक ५ लाख युवाहरु श्रम बजारमा आउने भएपनि देशमा ५ लाखलाई रोजगारी दिन तत्काल नसकिएको पनि मन्त्री विष्टले बताए । तर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएपछि आगामी आर्थिक वर्षमा भने ५ लाखलाई रोजगारी दिने पनि उनले दाबी गरेका छन् ।नेपालका विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखानाजस्तो मात्रै भएको भन्दै युवालाई उद्यमी बन्न र बनाउन स्थानीय तहले पनि सहयोग गर्नुपर्ने मन्त्री विष्टले बताए ।
प्रदेश नम्बर ३ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यन्वयनका सम्बन्धमा शुक्रबार श्रम मन्त्रालय, प्रदेश नम्बर ३ सरकार र स्थानीय तहबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । यससँगै यस आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गएको बजेट कार्यन्वयन गर्ने बाटो खुलेको छ भने स्थानीय तहमा युवाहरुलाई रोजगारीमा लगाउने अवसर सुरु भएको छ ।