वनमन्त्री बस्नेत र सचिव ओलीबीच करार सम्झौतामा हस्ताक्षर


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २१ २०७६
9K
SHARES

२१ सावन काठमाडौं।वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीसँग वार्षिक करार सम्झौता गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सो अवसरमा मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा व्यक्त हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । मन्त्री बस्नेतले कार्यसम्पादनका क्रममा सुशासनलाई केन्द्रमा राख्न पनि आग्रह गरे । सुशासनबिना सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य भेट्न असम्भव भएको उनको भनाइ थियो ।

‘मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा देखिने गरी काम हुनुपर्छ’, मन्त्री बस्नेतले भने, ‘काम गर्दा हामी सबैले सुशासनलाई प्राथमिकतामा राख्नैपर्छ, अन्यथा सरकारले लक्ष्य पूरा हुन सक्दैन ।’ मन्त्री बस्नेतले दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएको उल्लेख गरे ।

मन्त्री बस्नेतले वनलाई आर्थिक उत्पादनको क्षेत्र हो भन्ने स्थापित हुने गरी काम भइरहेको बताए । त्यसका लागि पछिल्लो एक वर्षमा कानूनी र नीतिगत व्यवस्थाहरु गरिएको चर्चा गर्दै उनले जनतालाई वनमा आधारित उद्यमशीलतासँग जोड्ने लक्ष्य मन्त्रालयको रहेको प्रष्ट पारे । वनलाई आर्थिक क्षेत्रसँग जोड्दा संरक्षणको पक्ष कमजोर हुने हो कि भन्ने आशंका नगर्न पनि उनले आग्रह गरे । ‘वन उद्यमशीलता र आर्थिक उत्पादनको क्षेत्र हो भन्ने व्यवहारतः सावित गर्न सक्दा संरक्षणलाई थप टेवा पुग्छ’, उनले भने, ‘संरक्षणमा चुनौती आउँदैन ।’ उनले जैविक विविधताको क्षेत्रमा नेपालले विश्वसामु शीर ठाडो पार्ने गरी काम गरेको बताए ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले इतिहासमै पहिलोपटक सरकारले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेको र त्यसले मन्त्रीहरुलाई र कर्मचारीलाई आत्मअनुशासित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका योजनाहरुलाई कार्यसम्पादन सम्झौतामा समेटिएको जानकारी दिए । उनले मन्त्रालयले गत वर्ष तय गरेका योजनमध्ये भौतिकतर्फ ८८ प्रतिशत र वित्तियतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

सचिव ओली र सहसचिवहरुबीच सम्झौता
कार्यक्रममा सचिव ओली र १४ सह–सचिवहरुबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भयो । त्यसक्रममा सचिव ओली र वन तथा जलाधार महाशाखा प्रमुख कृष्णप्रसाद आचार्य, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकाल, सहभागितामूलक वन व्यवस्थापन महाशाखा प्रमुख चन्द्रमान डंगोल, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख यज्ञनाथ दाहाल, प्रशासन महाशाखा प्रमुख चक्रपाणि पाण्डे, वन विभागका महानिर्देशक डा.रामप्रसाद लम्साल, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक दीपक खराल र वनस्पति विभागका महानिर्देशक सञ्जिवकुमार राईबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भयो ।

यस्तै सचिव ओली र रेड कार्यान्यवन केन्द्रकी प्रमुख राधा वाग्ले, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका सदस्यसचिव डा.प्रेमनारायण कँडेल, नवगठित नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.रामप्रसाद लम्साल र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीबीच पनि करार सम्झौतामा हस्ताक्षर भयो । सचिव ओलीले हरेक एक महिनामा कार्यप्रगतिबारे रिपोर्टिङ लिइने बताए ।