ऊर्जा मन्त्री पुनद्वारा भेरी–बबईको डाइभर्सनको निरीक्षण
२१ कर्तिक काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुधबार भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेएका छन् । बबई किनार हात्तीखालस्थित सुरुङको निकासद्वारबाट ‘मोनोरेल’ चढेर चिप्लेमा रहेको प्रवेशद्वार आएएका मन्त्री पुनले आयोजनाको निरीक्षण गरेका हुन् ।
नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत १२।२ किमी लामो यो सुरुङ निर्माण गरिएको हो । निर्माण अवधिभन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको सुरुङको ‘बे्रक थु्र’ यही वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
आयोजनाले सुरुङ निर्माण गर्ने क्रममा मोनोरेल ल्याएको थियो । मन्त्री पुनको टोलीलाई मोनोरेलबाट चिप्ले आइपुग्न करीब एक घण्टा लागेको थियो । आयोजनाका प्रमुख सञ्जिव बरालले आयोजनाको पछिल्लो प्रगतिबारे ‘ब्रिफिङ’ गरेका थिए ।
आयोजना निरीक्षणका क्रममा ऊर्जामन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनामा बजेट र जनशक्ति अभाव हुन नदिने प्रतिबद्धता जनाए । “प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निगरानी गरिराख्नुभएको छ, कुनै बाधा व्यवधानबिना आयोजना बन्छ”, कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “कुनै लापरवाही नगरी निर्धारित समयभन्दा अगावै सक्ने गरी काममा खटिनुस् ।”
उनले बाँध र विद्युत् गृहलगायतका संरचनाको एकैसाथ निर्माण प्रक्रिया शुरु गरिएको बताए । जनताको जलविद्युत् आयोजनाअन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत् उत्पादन गरिने उनको भनाइ थियो ।पूर्वी सल्यानको दार्मा गाउँपालिकामा विद्युत् लाइन विस्तारसम्बन्धी कार्यक्रम जाने क्रममा मन्त्री पुनले भेरी–बबईको निरीक्षण गरेका हुन् ।