बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितलाई केही दिनभित्रै मुअब्जा
७ मंसीर काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको बुढीगण्डकी प्रभावित क्षेत्रका मुअब्जा नपाएका बासिन्दाहरुलाई केही दिनभित्रै मुअब्जा वितरण गर्ने तयारी भईरहेको छ । नेपाल सरकार मन्त्रीपरिषद निर्णय अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मंसीर ३ गते पत्र लेखि प्रभावितहरुलाई छिटो मुअब्जा वितरण गर्न भनेको छ । बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुअब्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाईको म्याद थप गर्दे मन्त्रालयले मुअब्जा वितरणका लागि प्रयाप्त बजेट समेत पठाएको जनाएको छ ।
यस अघि आयोजना निर्माणका लागि अधिग्रहण गरिएका जग्गाको केही क्षेत्रको मुअब्जा वितरणमा सरकारबाट ढिलाई हुँदै आएको थियो । कार्तिक २९ गते बसेको मन्त्रीपरिषदले निर्णय गरेपछि गोरखा र धादिङ जिल्लाका प्रभावित क्षेत्रका जग्गााको मुअब्जा वितरण गर्न लागिएको हो । चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रम अनुसार सबै काम सम्पन्न गर्न मन्त्रालयले निर्देशन गरेको छ ।
के गरे जनप्रतिनिधिले ?
गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले यसअघि नै पटक पटक उर्जा , जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई भेट गरी आयोजनाका बाँकी काम अगाडि बढाउन आग्रह गर्दै आएका थिए । उनले सार्वजनिक रुपमा नै जनताको समस्या समाधान हुँदैन भने म के जनप्रतिनिधि भन्दै संघीय सांसदबाट राजीनामा दिने बताउँदै आएका थिए । त्यस लगतै नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय भएपछि मुअब्जा वितरणको काम अघि बढ्ने प्रक्रियामा पुगेको छ ।