मन्त्री मगरले गरिन ‘ड्वासर बेलाैरी माघ म्याला’को उद्घाटन
२७ पुष काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले समृद्ध समाज निर्माणमा सबैको सहयोगको खाँचो रहेको बताउनुभएको छ ।सनिबार कञ्चनपुरको बेलौरीमा आयोजित ‘ड्वासर बेलाैरी माघ म्याला’को उद्घाटन गर्नुहुँदै मन्त्री मगरले विकास निर्माणका कार्यमा सबैको सहकार्य भएमा मात्रै समग्र समाजको विकास सम्भव हुने बताउनुभयो ।उहाँले प्रतिपक्षी नेपाली काँगेसका नेता तथा कार्यकर्तालाई विकासका कार्यमा अवरोध सिर्जना नगर्न आग्रह गर्नुभएको छ । “विकास निर्माणका कार्यमा सके सहयोग गर्नुस, गर्न नसके अबरोध नगरिदिनोस्”, उहाँले भन्नुभयो । विकासमा अवरोध गर्नेहरुले नियोजित रुपमा प्रचार गरेर बदनाम गराउन खोजेको उहाँको भनाइ थियो ।
थारु कल्याणकारिणी सभा बेलौरीको आयोजनामा थारु समुदायको मुख्य चाड माघीको अवसर पारेर मेला सञ्चालन गरिएको मेला मूल आयोजक समितिका संयोजक सुनिता चौधरीले बताउनुभयो । थारु समुदायको पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्ने मुल उद्देश्यका साथ शुरु भएको मेला पुस २८ गतेसम्म जारी रहने छ । मेला सञ्चालनका लागि झण्डै रु ११ लाख बराबर खर्च हुने अनुमान गरिएको छ । जसमध्ये रु पाँच लाख बेलौरी नगरपालिका कार्यालयले उपलब्ध गराउने छ भने बाँकी विभिन्न दातृ सस्थाहरुको सहयोगमा रकम जुटाइने बताइएको छ ।