माछापुच्छ्रेमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा बैंकर कोइरालालाई
२९ फाल्गुन काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा बाहिरिएसंगै सोहि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका बैंकर सन्तोष कोइरालाले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका छन्। २३ महिनाअघि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने छन्।माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा थिए।
त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए। शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको थियो। उनी ‘ब्यक्तिगत कारण’ देखाउँदै बाहिरिन लागेको बैंकले जानाएको छ।शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए। शर्मासंग बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव छ। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए। माछापुच्छ्रे बैंकमा मात्रै कोइरालाले ७ वर्ष काम गरेका छन्।बैंक अफ काठमाण्डूबाट बैंकिंग करियर सुरु गरेका कोइराला त्यहाँबाट सानिमा बैंक गएका थिए। सानिमामा १० वर्ष काम गरेपछि उनी माछापुच्छ्रे आएका थिए। उनीसंग २१ वर्षको बैंकिङ अनुभब छ।त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्।