ऊर्जामन्त्री पुनद्वारा नेपालको विद्युत किन्न भारतलाई आग्रह


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०७६
4.9K
SHARES

२९ फाल्गुन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले छिमेकी भारत समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गरेका छन् । यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न आग्रह गरेका हुन् ।

‘अहिले हामी भारतबाट विद्युत खरिद गरिरहेका छौं’, सिंहदरबारस्थित मन्त्रालयमा भेट्न पुगेका भारतीय ऊर्जा मन्त्रालयका सचिव संजिव नन्दन (एसएन) सहायसँग बुधबार मन्त्री पुनले भने, ‘अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौं । त्यसका लागि जारी प्रक्रियाले गति लेओस् भन्ने चाहन्छौं ।’ नेपाल विद्युत प्राधिकरण र भारतीय केन्द्रीय विद्युत प्राधिकरण (सीइए) बीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भइसकेको छ । तर, उक्त सम्झौता अनुसार भारतीय ऊर्जा मन्त्रालयले त्यहाँको विद्युत प्राधिकरणलाई विद्युत व्यापारको सहमति दिन ढिलाइ भएका कारण उक्त काम सुरु हुन सकेको छैन । मन्त्री पुनले दुई देशका प्राधिकरणबीच भएका सम्झौताअनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन आग्रह गरे । जवाफमा सचिव सहायले त्यो छिट्टै हुने प्रतिबद्धता जनाए ।

मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनबारे यसअघि दुई देशबीच पटकपटक छलफल र सहमति भएको स्मरण गराउँदै उक्त काम छिट्र्ट सक्नुपर्नेमा जोड दिए । नेपालले १२ सय मेगावाटको बुढीगण्डकी, ७ सय ५६ मेगावाटको तमोर र ६ सय ३५ मेगावाटको दूधकोसीजस्ता ठूला जलासययुक्त आयोजना निर्माणको काम अघि बढाएको र ती आयोजनाबाट भारतले समेत अप्रत्यक्ष लाभ लिन सक्ने मन्त्री पुनको भनाइ थियो ।

ती आयोजनाबाट भारतको तल्लो तटीय क्षेत्रमा वर्षेनी हुने बाढी÷डुबान नियन्त्रण, सिंचाइ, खानेपानी तथा जलयातायातमा लाभ लिन सक्ने बताउनुभयो । दुवै मुलुकले लाभ लिने भएकाले त्यस्ता आयोजनामा सहकार्य गर्न मन्त्री पुनले प्रस्ताव गरे । यस्तै मन्त्री पुनले भारत सरकार र भारतीय कम्पनीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा थप लगानीका लागिसमेत अपिल गरे ।

जवाफमा भारतीय ऊर्जा सचिव सहायले विद्युत व्यापार सम्झौता र अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम छिट्टै अगाडि बढ्ने विश्वास व्यक्त गरे । अरुण तेश्रो जलविद्युत आयोजनाको काम अगाडि बढाउन नेपाल सरकार र ऊर्जा मन्त्रालयले राम्रो सहजीकरण गरेको भन्दै सचिव सहायले प्रशंसा गरे । सचिव सहायले नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा थप सहकार्य हुने पनि बताए ।