कोभिड-१९ नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७
6.5K
SHARES

२१ वैशाख, काठमाडौं । विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध लडिरहेको छ। यसमा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन्।कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पनि परेकी छिन् ।उनी हुन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा । उनले अहिले नेपालमा कोभिड-१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् । उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन । त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् ।

झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुवरी मध्यदेखि सुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन एक सय ७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।

महामारी बढेसँगै उनीहरूको कामको चाप बढेको छ । तर, उनी आफ्नो तर्फबाट कर्मचारीलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।यो काम गर्नु झाको लागि चुनौतीपूर्ण पनि छ । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् । उनी परिवारसँग बस्न मन भएको तर सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको बताउँछिन् ।