क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्रीको निर्देशन
८ जेष्ठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा बुधबार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए । सीसीएमसीको तीन क्लस्टर स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा कार्य, शान्ति सुरक्षा कार्य र सूचना तथा प्रविधि कार्यको काम, कारबाहीबारे पनि ओलीलाई छुट्टै जानकारी गराइएको थियो ।
ब्रिफिङपछि निर्देशन दिने क्रममा ओलीले देशभर क्वारेन्टाइनको स्थितिबारे चासो देखाउँदै सुधार गर्न निर्देशन दिएको एक अधिकृतले अनलाइनखबरलाई बताए ।स्रोतका अनुसार जेठ २० मा लकडाउनको अवधि सकिएपछि सरकारले लिनुपर्ने कदम र भावी रणनीतिबारे पनि छलफल भयो । विदेशबाट ल्याउनु पर्ने नागरिकको सम्बन्धमा पनि ओलीले चासो राखे । स्रोतका अनुसार अप्सले पहिले संरचना तयार गरेर मात्र कति नेपालीलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने यकिन हुने प्रधानमन्त्री ओलीलाई जानकारी दिएको छ ।यसको तयारी थाल्न पनि निर्देशन प्राप्त भएको स्रोतको दाबी छ । कोभिड-१९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले सेन्टरको स्थापना गरेको थियो ।