बजेट नेकपाको असफलताको दस्तावेज हो-डा. रिजाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७
3.5K
SHARES

१६ जेष्ठ काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता तथा छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए ।

‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ’ डा. रिजालले भने ‘झण्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नु पर्द’थ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्द’थ्यो ।’रिजालले सरकारले अप्ठ्यारोमा आँखा खोल्न नसकेको भन्दै सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिए पनि ठोस रुपमा अङ्कमा नआएको बताए ।

अर्थतन्त्रको आकार नबढ्ने भएकाले राजस्वको लक्ष्य भेट्न कठिन हुने रिजालको भनाइ छ । उनी भन्छन्, ‘राजस्वको अनुमान संशोधितभन्दा २२ प्रतिशतले बढाउने भन्नुभएको छ, जुन यथार्थपरक छैन ।’डा. रिजालले संशोधित १२१ अर्बबाट तीन सय अर्ब वैदेशिक ऋण उठाउने भन्ने कुरा सम्भव नभएको बताए । उनले लक्ष्यअनुसार आन्तरिक ऋण उठाइयो भने उद्योगी व्यवसायीलाई बजारबाट ऋण लिन गाह्रो पर्ने बताए । ‘जसले आज संकटमा परेका व्यावसायीलाई तङ्ग्रिने बाटो दिँदैन’ रिजालले भने ।