मेलम्चीको पनि आगामी आर्थिक बर्षको शुरुमै वितरण हुन्छ -मन्त्री मगर
४ अषाढ काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताएकी हुन् । उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन् । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले नै गर्ने उनको भनाइ थियो । उनले भनिन्– ‘पानी घरघरमा पुग्ने कुरामा शङ्का गर्नुपर्ने अवस्था छैन ।’
सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निरास बनाएको उनको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको उनको भनाइ थियो । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको मन्त्री मगरले बताइन् । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ । उनले भनिन– ‘सबै चुनौती भए पनि आगामी आर्थिक बर्षको शुरुमै पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।’