महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्छ : गौतम
१४ असार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्ने बताएका छन्।शनिबारको स्थायी समिति बैठकमा विषयमा बोल्दै उपाध्यक्ष गौतमले २०५४ मा महाकाली सन्धि गलत छ भनेर विरोध गर्दा आफूमाथि कारबाही भएको समेत स्मरण गर्दै यस्तो बताएका हुन् ।
‘महाकाली सन्धिकै कारण पार्टी फुट्यो, हामीले भारतको हेपाइ र दमन खेप्न पर्यो’, बैठकमा गौतमले भने, ‘महाकाली सन्धि गर्न अघि सर्ने नेता नै अहिले पार्टी र सरकारको नेतृत्वमा हुनुहुन्छ, उहाँले क्षमायाचना गरेर मलाई सम्मान गर्नुपर्छ।’गौतमले आफूलाई न्याय दिन पार्टी नेतृत्वसामू माग समेत गरे । यसका लागि महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर पार्टी भन्नुपर्ने उनको माग छ ।
महाकाली सन्धी गर्दा महाकालीको मुहान प्रष्ट नभै सन्धि गर्न हतारिएकै कारण लिम्पियाधुरा लिपुलेक र कालापानी भारतले मिचेको समेत उनले बताए ।भारतसँग वार्ता र छलफलबाटै सीमा समस्या समाधान गर्नुपर्ने बताउँदै उपाध्यक्ष गौतमले वार्ता गर्न नमाने दबेर बस्नु नहुने र विकल्पमा छलफल गर्नुपर्ने बताए ।