अन्तर्राष्ट्रिय बजारमा ‘बिजुली बेच्न नसके १० खर्ब जोखिममा’


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
6.8K
SHARES

१८ भदौ काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने दाबी गरे । हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत् उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढे पनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाइ छ।

‘अहिलेको विद्युत् खपतको अवस्था र तत्काल धेरै विद्युत् खपत गर्ने गरी औद्योगीकरण नहुने अवस्थाले अबको तीन वर्षमा विद्युत् माग १७/१८ सय मेगावाटभन्दा बढी पुग्ने अवस्था छैन’, उनले भने, ‘अहिलेको अवस्थाले चालु वर्षमा एक हजार, अर्को वर्ष दुई हजार र तेस्रो वर्ष कम्तीमा एक हजार पाँच सय मेगावाट भन्दा बढी गरी तीन वर्षभित्र झण्डै ४५ सय मेगावाट बराबरको उत्पादन बढ्ने अवस्था छ, त्यो अवस्थामा बिजुली बेच्न नसके चार हजार मेगावाट विद्युत् खेर जान्छ।’

विद्युत् खेर जाँदा ऋण लगानी गर्ने बैंक, स्वपुँजी लगानी गर्ने लगानीकर्ता र सेयर लगानी गर्ने सेयरकर्ताको पैसा डुब्ने बताउँदै सरकारले अग्रसरता देखाए अहिले पनि विद्युत् व्यापारको अवस्था रहेको बताउँछन्। चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढे पनि त्यो निर्माण हुन पाँच वर्ष कम्तीमा लाग्ने तथा बनेपछि पनि पाँच सय किलोमिटरभन्दा बढीको प्रसारण लाइनमा बिजुली लैजानुपर्ने भएकाले विद्युत् व्यापार कठिन रहेको तथा बंगलादेशमा बिक्री गर्न पनि २३ किलोमिटर भारतीय भूमि प्रयोग गर्नुपर्ने कारण भारत अहिलेका लागि नेपालको बिजुलीको मुख्य बजार रहेको उनको तर्क छ। विद्युत् बेच्नका लागि पहिलो अन्तरदेशीय प्रसारण लाइन बनिसकेकाले एक हजार मेगावाटसम्म तत्काल निर्यात गर्न सकिने तथा अहिले निर्माण अघि बढेको तीन हजार मेगावाटसम्म निर्यात गर्न सकिने बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणपछि धेरै सहज हुने उनी बताउँछन्।