टिकटकका कार्यकारी प्रमुख केभिन मायर द्वारा राजीनामा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७
7.6K
SHARES

२५  भदौ काठमाडौं ।  टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै चिनियाँ कम्पनीहरु अहिले संकटमा छन् ।

राष्ट्रपति ट्रम्पको आदेश विरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ एप वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् । उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्ने छन् । टिकटकले पनि मायरले राजीनामा दिएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ।

बाइटडान्सका संस्थापक एवं प्रमुख कार्यकारी यिमिङ झाङले कम्पनीका कर्मचारीलाई पठाएको पत्रमा विवादित विषय सुल्झाउन प्रयास जारी रहेको बताए । उनले भारत र संयुक्तराज्य अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या उत्पन्न भएको स्वीकारेका छन् ।

गत अगष्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रष्ट गर्न ४५ दिनको समय दिइएको छ ।