पूर्वसभामुख महराकी पत्नी सीताको निधन


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
4.8K
SHARES

१९ कात्तिक काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ।महराकी पत्नी सीताको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको हो।माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित रहेकी उनमा कोरोना संक्रमण भएपछि अवस्था गम्भीर बनेको थियो ।नर्भिकमा उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि बुधबार बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।सीता २०१८ साउन १३ गते रोल्पामा जन्मेकी थिइन्। कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक सीतालाई यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन्। त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए।त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।