त्रिशूलीमा बिरामी बोकेको पिकअप भ्यान खस्दा तीन जना बेपत्ता
११ मंसिर काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौं आउदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना नदीमा पौडिएर निस्किन सफल भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको हो ।
दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते छन् । बेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।घाइते मुकुन्दले पानीमा पौडिएर बाहिर आएको प्रहरीलाई जानकारी दिएको छ। उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल मा उपचार भइरहेको छ ।प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ । पिकअप भ्यान पानीले डुबेर नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको चितवनका प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।