विप्लवसँग सहकार्यको प्रस्ताव थापाले गरे


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २० २०७७
5.6K
SHARES

२० माकाठमाडौं। खानेपाली मन्त्री मणि थापाले नख्खु जेलमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई भेटेका छन्। मंगलबार विहान नख्खु जेल पुगेका मन्त्री थापाले ओलीलाई मन्त्री थापाले भेटेको जेलर मोहन अधिकारीले जानकारी दिए।

उनले जेलमा रहेका विप्लव नेकपाका अन्य नेतालाई समेत भेटेका थिए। अधिकारीका अनुसार मन्त्री थापा केहीदिन अघिदेखि नै आउने कार्यक्रम थियो। कारागारमा भएको खानेपानीको समस्यालाई बुझ्नका लागि आउँदा उनलाई पनि भेटेको जेलर उनले बताए।

बिहान करिब १० बजेतिर मन्त्री थापा नख्खु जेल पुगेका थिए। डेढ घण्टा जति उनले त्यही बिताए। त्यसै क्रममा नेता ओलीसँग भेट भएको हो। ‘ कारागार भित्र पनि निरिक्षण गर्नु भएको थियो। त्यही क्रममा उहाँसँग पनि भेटेर केही समय कुरा भयो,’ कारागार स्रोतले भन्यो।

सरकार र विप्लव नेकपाबीच वार्ता प्रयास भइरहेको बेला मन्त्री थापा विप्लव नेकपाका नेता ओलीलाई भेट्न पुगेका हुन्। ओली २०७५ चैत्रमा काभ्रेबाट पक्राउ परेका थिए। मन्त्री थापा जेल निरिक्षण गर्ने भन्दै नख्खु पुगेका थिए। प्रतिनिधिसभा विघटनपछि नेकपा कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबन्धित विप्लव समूहसँग केही सकारात्मक देखिएका छन्।

सकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध समेत फुकुवाको तयारी समेत गरिरहेको बताइएको छ। मन्त्री थापाले कारागारमा नै गएर भेट्नुले सरकार विप्लव नेकपासँग सकारात्मक देखिएको आकलन गरिएको छ। ओलीसँगको भेटमा मन्त्री थापाले वार्ताका लागि तयार हुन आग्रह गरेका छन्। उनले वार्ताको माहोल बनाउन पनि आग्रह गरेको बताइएको छ।

अहिलेका गतिविधिले नहुने भन्दै मन्त्री थापाले शान्तिपूर्ण रूपमा मुलधारको राजनीतिमा सँगै हिँड्न नेता ओलीसँग आग्रह गरे। मन्त्री थापाले भने, ‘तपाईंहरू वार्ताका लागि तयार हुनुस्। अब शान्तिपूर्ण रूपमा मुलधारको राजनीतिमा सँगै हुनुपर्छ।’

जवाफमा नेता ओलीले आफू जेलभित्र रहेका कारण वार्ताका लागि पार्टी र सरकारले गरेका कामबारे बुझ्न नपाएको बताए। ‘म यहाँ जेलमा छु। कसैसँग भेटघाट र छलफल भएको छैन। म यस विषयामा (वार्ताका विषयमा) केही भन्न सक्दिनँ’ ओलीले भने, ‘तर, पत्रपत्रिकामा आएको खबर अनुसार महासचिव कमरेड वार्ता विरोधी हो जस्तो चाहिँ लाग्दैन।’