प्रचण्ड-बाबुराम एकै मञ्चमा


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १ २०७७
15.1K
SHARES

१ फागुन काठमाडौं।आद समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले आज पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राखेर एक कार्यक्रमको आयोजना गर्ने भएका छन्। जनयुद्ध दिवशको अवसर पारेर डा. भट्टराईले ‘गुमनाम आमाहरुको कथा’ पुस्तकको विमोचनको कार्यक्रम राखेका हुन्।

२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन्। पुस्तक सार्वजनिक कार्यक्रमको प्रमुख वक्ता उहि आफ्नो पुरानो सारथी प्रचण्डलाई रोजेर भट्टराईले आज पुस्तकको विमोचन गर्न लागेका हुन्।

प्रतिनिधिसभा विघटन (पुस ५ गते) यता पहिलोपटक जनयुद्ध दिवसकै अवसरमा आज उनीहरू एकसाथ एकै मञ्चमा उपस्थित हुन लागेका छन्। जनयुद्धका दुई सारथी प्रचण्ड र डा. बाबुराम भट्टराईको राजीनीतिक पार्टी अहिले फरक छ। विचार र सिद्दान्त पनि फरक छ। उनीहरु मौका मिलेसम्म एकअर्कालाई आरोप प्रत्यारोप गरिरहन्छन्।

दुई सारथीको फरकफरक पार्टी भएपछि व्यक्तिगत र राजनीतिक भेटघाट पातलिएको थियो। तर आज डा. भट्टराईले लेखेको ‘गुमनाम आमाहरूको कथा’ पुस्तक विमोचन समारोहमा प्रचण्ड वक्ताका रूपमा सहभागी हुने भएका हुन्। बालुवाटारस्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे विमोचन कार्यक्रम राखिने आयोजकले जनाएको छ।

साथमा रामचन्द्र पौडेल, अशोक राई, डा. मीना पौडेल, डा. अरुण गुप्तो वक्ताको रुपमा रहेका छन्। उनको कृतिलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो।