भागरथी हत्या प्रकरण : मार्नकै लागि कुरेर बसेको थिएँ
५ फागुन काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएका थिए ।
भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा ।
तर माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरु बताउँछन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।
उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ ।
तर हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको स्रोत बताउँछ । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ । अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो । उनलाई अभियुक्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।”