खोप लगाएपछि डा. भट्टराई बिरामी
२० फागुन काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाविरुद्धको खोप लगाएपछि ज्वरो आएको छ। उनी स्वास्थ्य जाँचका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
भट्टराईलाई १०४ डिग्रीसम्म ज्वरो आएको बताइएको छ। विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा. भट्टराई बिहीबार नै घर फर्किएका छन्। हालै भारतको नयाँ दिल्ली पुगेर स्वास्थ्य जाँच गरेर फर्किएका उनलाई सामान्य ज्वरो आइरहेको थियो।
सोही अवस्थामा बुधबार कोरोनाविरुद्धको खोप लगाएपछि ज्वरो बढेको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए। डा. भट्टराईको स्वास्थ्यलाई शिक्षण अस्पतालका साथै वीर अस्पतालका केही चिकित्सकहरुले निगरानी गर्ने भएका छन्।