जोशीलाई भेन्टिलेटरमा राखेर उपचार हुँदैछ – परिवार
४ चैत काठमाडौ । नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् ।
अस्पताल र परिवारका सदस्यले पुष्टि नगरिकन केही सञ्चारमाध्यमले उहाँको बारेमा अनावश्यक खबर छापेका दाजु राजुराज जोशीले बताउनुभयो । राजुराज जोशीले भन्नुभयो–‘सञ्चारमाध्यममा हामीले पुष्टि नगरेको खबर आयो, यो गलत हो । उहाँको अहिले पनि भेन्टिलेरटमा नै राखेर उपचार भइरहेको छ ।’
नवीन्द्रराज जोशीकाे स्वास्थ्य अवस्था भने जटिल छ । उहाँका सहयोगी पुष्कर पाण्डेले जोशीको स्वास्थ्य गम्भीर रहेको तर बाहिर हल्ला आए जस्तो नभएको बताउनुभयो ।
जोशीको मस्तिष्क समस्या भएको, प्रेसर लो भएको तथा फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताउनु भएको छ ।
उहाँले अवस्थाबारे जानकारी दिन अस्पतालले आज दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
कांग्रेस नेता नवीन्द्रराज जोशीबारेको यसअघिको असावधानीपूर्वक प्रकाशित समाचार हटाइएको जानकारी गराउँदै गल्तीप्रति क्षमायाचना गर्दछौं । साथै आउने दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दछौं ।