ओली एमाले होईन, असली एमाले हामी हौं – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०७७
6.8K
SHARES

११ चैत काठमाडौं ।एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली विमाले, सिमाले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरेका छन ।हिजो आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

उनले अघि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

उनले ओली हिटलरको नेपाली अवतार भएको बताएका छन् ।
नेपालले ओलीमाथि व्यक्तिवादी बनेको र कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको दिशातिर लगेको आरोप लगाएका छन ।

तर ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी हौं’ भन्ने भ्रम छलेको उनले बताएका छन । जबज र केपी ओलीको कहिल्यै भेट नभएको भन्दै उनले भने, ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नुभयो ।’

अहिले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा आसेपासे र दासहरुलाई मात्र राखेको र उनीहरुमा गलत कुराको आलोचना गर्ने हिम्मत नभएको नेता नेपालले बताएका छन ।

पार्टीमा आफ्नो एकाधिकार कायम गर्न खोजेको भन्दै उनले भने, ‘हिटलरको नेपाली अवतार भएका छन् ओली । यो निरंकुशतालाई स्वीकार गर्न सकिन्नँ ।’

आफूहरुले केपी ओलीको नभई ओली प्रवृत्तिको मात्र विरोध गरेको नेता नेपालले बताएका छन ।