आज स्पष्टीकरण दिने अन्तिम दिन, नेपाल पक्ष के गर्छन ?


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०७७
4.2K
SHARES

११ चैत काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले स्पष्टीकरणको जवाफ दिने भएको छ। शनिवार बसेको संसदीय दल र केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोहीअनुसार एमाले महासचिव ईश्वर पोखरेलले सोमबार पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारबाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन नेताहरूलाई छुट्टाछुट्टै पत्र काटेका थिए।

नेता नेपाल पक्षले उक्त बैठक भने बहिस्कार गरेका थिए। तर पार्टीले स्पष्टीकरण सोधेपछि स्पष्टीकरणको जवाफसहित अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न सोध्ने तयारी भइरहेको एमालेका एक नेताले जानकारी दिए। ‘स्पष्टीकरणको जवाफ तयार भइरहेको छ, समयभित्रै जवाफसहित अध्यक्ष ओलीलाई समेत प्रश्न गरिनेछ,’ माधव नेपाल निकट ती नेताले भने।

स्रोतकाअनुसार स्पष्टीकरण दिने/नदिनेमा नेपाल पक्षभित्र मत विभाजित भएको बुझिएको छ। स्पष्टीकरणको जवाफ प्रतिस्पष्टकिरणसहित दिने की भन्नेबारे मत समूहमा आएको ती नेताको भनाई छ। एक थरी नेताहरूले जवाफ पनि नदिने प्रतिस्पष्टीकरण पनि नदिने मत राखिरहेका छन्। एमाले नेता भीम रावलले पनि अध्यक्ष ओलीले नक्कली कमिटी गठन गरेर सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने प्रतिक्रिया दिए।

‘मनपरी ढङ्गले केन्द्रीय कमिटीमा मानिसहरू थपघट गर्ने, विधानका धाराहरू कुल्चँदै बैठक बसेर निर्णय गरेँ भन्ने कुरा अवैध र स्वेच्छाचारी छ’ रावलले भने, ‘त्यस्तो नक्कली कमिटीको के अर्थ रहन्छ ?’ गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि अध्यक्ष ओलीले विधान विपरीत एकपक्षीय निर्णय गरेको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ।

यद्यपि आफ्नो समूहमा साझा धारणा निकाल्ने कोसिस नेपाल पक्षले गरिरहेको छ। स्पष्टीकरण दिने या नदिने भन्ने विषय बुधवार आजै टुंगो लगाइने बताइएको छ। त्यसबारे ठोष निर्णय लिन नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन्। छलफल कहाँ भइरहेको छ भन्ने विषय खुलाइएको छैन। स्पष्टीकरणलाई लिएर समूहमा देखिएका दुई खाले धारणाहरूमा साझा निष्कर्ष निकाल्ने प्रयत्न भइरहेको छ। उता स्पष्टीकरणको जवाफ पेस गर्न दिएको समयको आजै सकिँदैछ।

नेता नेपालले ओलीको स्पष्टीकरणबाट आफू नतर्सिने बताएका थिए। उनले आफूहरू आत्मसमर्पण गर्न तयार नरहेको अभिव्यक्ति दिएका थिए। मंगलबार आफू निकट अनेरास्ववियुको भेलामा नेपालले ओलीले निर्देशन अनुसार काम गर्न स्थिति नभएको दाबी गरेका थिए। स्पष्टीकरण सोधिएको पत्रमा नेकपा रहँदा उनीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार बनेको, आधिकारिकताका लागि निर्वाचन आयोगलाई अनावश्यक दबाब दिएको, नेकपा एमालेमा आएपछि पनि पार्टीको निर्देशन विपरीत गुटगत गतिविधि गरेको, ओलीविरुद्ध षड्यन्त्र गरेको र पार्टी फुटाउन लागी परेको लगायतका आरोप लगाइएको थियो।- लोकपाटीबाट