एमाले किचलोः स्पष्टीकरणको जवाफमा नेपाल पक्षबाट यस्तो प्रतिप्रश्न
१३ चैत काठमाडौं । सत्तारुढ एमालेभित्र स्पष्टीकरणको चरणमा पुगेको विवादले पार्टी एकता थप संकटमा परेको छ । स्पष्टीकरणको जवाफ दिँदै बिहीबार वरिष्ठ नेता माधव नेपालसहितका चार नेताले उल्टै अध्यक्ष केपी ओलीलाई गम्भीर आरोपसहितका प्रतिप्रश्न सोधेपछि विवाद थप चर्किने देखिएको छ ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै गत ९ चैतमा वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेलमार्फत स्पष्टीकरण सोधेका थिए । तीन दिनको म्याद दिइएको भए पनि नेताहरूले एक दिन ढिलो गरी जवाफ दिएका हुन् ।
वरिष्ठ नेता नेपालले दिएको आठ पृष्ठ लामो जवाफमा अध्यक्ष ओलीमाथि पार्टी विभाजनको दुराशय राखेको आरोप लगाएका छन् । ‘सर्वोच्चको फैसलाअनुसार १५ दिनभित्र निर्वाचन आयोगमा आउनू भनी दिएको सूचनाको बारेमा अध्यक्षको हैसियतमा केन्द्रीय कमिटीको छलफल नगराउनुको कारण र त्यसो नगर्नुको पछाडि ओलीमा पार्टी विभाजन गर्ने मनसाय छ भनेर किन नभन्ने ?’ उनले प्रश्न गरेका छन्, ‘पार्टी विभाजनको दुराशय राख्दै २ चैतमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा एकता कायम राख्नका लागि २८ फागुनमा गरिएको निर्णय खारेज गर्ने प्रस्ताव किन अस्वीकार गरेको ?’
सर्वोच्चको फैसलापछि अध्यक्षको हैसियतले विधिवत् बैठक बोलाउनुपर्ने कर्तव्य बिर्सेर पार्टीको विधान र प्रक्रियाविपरीत नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको जिम्मेवारी परिवर्तन गर्ने, एमालेको सदस्यसमेत नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्नेलगायतका निर्णय गरिएको भन्दै सार्वजनिक गरेर पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गरेको भनेर पनि नेता नेपालले ओलीलाई प्रश्न गरेका छन् ।
उनले सोधका छन्, ‘यस्ता गतिविधि गर्दा नवौँ राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन ?’ कार्यकर्तामा भ्रम सिर्जना गर्नका लागि आफूलाई स्पष्टीकरण सोधिएको नेता नेपालले उल्लेख गरेका छन् । विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।