म जनता प्रति ऋणी छु – प्रचण्ड
२६ चैत काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले पटक पटक मौका पाएर पनि जनताका लागि सोचे जति गर्न नसकेको दुखेसो गरेका छन्।
पश्चिम भ्रमणमा रहेका अध्यक्ष दाहालले बुधबार रुकुममा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।अध्यक्ष दाहालले भने- ‘जनताले विभिन्न अवसर दिए। मलाई जनयुद्धको नेतृत्व गर्ने अवसर दियो, शान्ति सम्झौताको नेतृत्व गर्ने अवसर दियो, संविधान सभा निर्वाचन गराउने महत्वपूर्ण अवसर पनि मैले पाएँ।
त्यसकारण म जनता प्रति ऋणी छु।’ ‘अहिले सम्म ठूलै मौका पाएको थिएँ। सोंचेको जति भने गर्न सकिएन।
देश विकास, भौतिक निर्माण तथा सामाजिक विकास गर्न चाहेको थिएँ। तर, चुनावबाट मलाई मौका दिइएन।’ आफूले सोचे जति काम गर्न नसक्नुमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोष दिएका छन्। जनताका लागि मौका पाए अझै विकास गर्ने मन भएको दाबी गर्दै आफूले विभिन्न किसिमका मान्छेलाई भेटेको र त्यस्ता मानिसहरुको कुरा सुन्दा केही गर्न सकिने आशा पलाएको बताए।
उनले भने-‘म प्रति जनताको भरौसा छ भन्ने महशुस भएकाे छ, विभिन्न किसिमका मान्छेसँग भेट्दा मेरो प्रशंसा गरेको पाएँ। एउटा नयाँ उर्जा लिएर अब म काठमाडौं जान्छु।’