यस्तो आयो तीन दलको बैठकबाट निष्कर्ष


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
7.4K
SHARES

२७ चैत काठमाडौं। आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलको बैठक सकिएको छ। नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिना निष्कर्ष सकिएको हो।

बैठकमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेका छन्। सभापति देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरे पनि बैठक बिना निष्कर्ष टुंगिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। देउवाको प्रस्तावमा माओवादी केन्द्र सहमत भए पनि जसपाले यसबारे छलफल गर्न थप समय मागेको छ। केन्द्रीय समितिको निर्णय अनुसार देउवाले बैठकमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोगका लागि प्रस्ताव अघि सारेका हुन्।

देउवाले उक्त प्रस्ताव अघि सारेपछि यस विषयमा आफूहरुले छलफल नगरेको जवाफ दिएको जसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए। ‘काँग्रेसले आफ्नो अग्रसरतामा सरकार बनाउने भनेर प्रस्ताव गर्‍यो। हामीले यसबारेमा कुनै छलफल गरेका छैनौं। अब चाँडै छलफल गरि निर्णय गर्छौं,’ उनले भने। बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता समीकरणबारे छलफल भएको बताए।

तीन दलको बैठकमा सभापति देउवाले केन्द्रीय समितिको निर्णय गरेझैं सरकार निर्माणको प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा माओवादी सकारात्मक देखिएको शर्माले बताए।

जसपाले भने औपचारिक बैठकपछि निर्णय दिने भनेको उनले बताए। आज बसेको तीन दलको बैठक निकै सकारात्मक भएको भन्दै शर्माले अर्को बैठक चाँडै बस्ने समेत बताए।