नेपाल विरूद्ध कठोर बन्दै ओली : होला त एकता ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २ २०७८
7.5K
SHARES

२ वैशाख काठमाडौं। झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग नेकपा एमाले संस्थापन पक्षसँग एकताको सम्भावना सकिएको नेताहरुले बताएका छन् ।

पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहको छ।

दोस्रो तहका नेताहरुले एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुवैतिरका सम्पर्क सूत्र केही दिनदेखि निराश देखिएका छन्।

नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी दुवै पक्षका विश्वासपात्रको रूपमा रहेका नेताहरूले दुवैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए।

एमालेभित्रको विवाद विदेशमा रहेका पार्टी कमिटीमा पनि देखिएको छ। खनाल–नेपाल समूहले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ।

सो समूहले ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ। ओलीले समानान्तर कमिटी निर्माण गरेर हिँडिरहेका नेपाल पक्षका नेताहरूलाई कारबाहीबारे थप निर्णय लिन वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादीको एकता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन नेकपाभित्रको विवाद एमालेमा सरेको छ ।

एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय नेताहरू मात्र बोलाएर विधान संशोधन तथा नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि विवाद चुलिँदै गएको छ ।