बालुवाटारमा भेट्दिनँ, भेट्ने भए सिंहदरबार आउनुस् – प्रचण्ड
४ वैशाख काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए। दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं। अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे।
यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए। भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ। ‘प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरबार बनाऔं । अहिले म बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जबाफ फर्र्काएको छु’, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए। दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गरे। दाहालले शुक्रबार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए। ‘प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभएको थियो। बालुवाटारभन्दा बाहिर भेटौं भने पनि प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म फोन आएको छैन’, दाहालको सचिवालयले साँझ जानकारी दियो। पुस ५ गतेपछि प्रधानमन्त्री ओली र दाहालबीच भेटघाट भएको छैन। उनीहरू एकअर्काबीच सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका थिए।
संसद् विघटनपछि ओली र दाहाल दुई ध्रुवमा बाँडिएका थिए। फागुन ११ गते सर्वोच्च अदालतले संसद् ब्युँताइदिएपछि ओलीलाई तत्कालीन नेकपाको संसदीय दलको नेताबाट हटाएर दाहाल आफैं संसदीय दलको नेता बनेका थिए। तर फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ओली र दाहाल पुरानै घरमा फर्कनुपरेको थियो।
अहिले मुलुक कोरोना संक्रमणको जोखिममा रहेका बेला राजनीतिक दलका कार्यक्रम भइरहेका छन्। स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न भने पनि राजनीतिक दलका कार्यक्रम रोकिएका छैनन्। सरकार परिवर्तनको कसरत भइरहेको छ भने एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। नयाँ सत्ता समीकरणका बारेमा कांगेस–माओवादीबीच कुराकानी अघि बढेका बेलामा ओलीले दाहाल र देउवासँग कुराकानी गर्न चाहेका हुन्। सरकारलाई दिएको समर्थन फिर्ता लैजान केही दिनअघि चुनौती दिएका प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको बहानामा नेताहरूसँग विशेष कुराकानी गर्न खोजेको स्रोतको दाबी छ।
कर्णाली प्रदेशमा माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई एमालेकै सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका छन्। केन्द्रमा पनि यस्तै अवस्था आउन सक्ने डरले ओली दाहालसँग नजिकिन खोजेका हुन्। ‘सर्वदलीय बैठक बस्नुअघि ओलीले दाहाल र देउवासँग अलगअलग छलफल गरेर अघि बढ्न खोजेको देखिन्छ’, बालुवाटार निकट स्रोतले भन्यो। ओली एमालेभित्र माधव नेपाललाई कारबाही गरेर दाहालसँग नजिक हुने खोजिरहेको स्रोतको दाबी छ। ‘अहिले माधव नेपाल पक्षलाई पार्टीभित्रको गेट बन्द गरेर माओवादीका नेताहरूसँग पनि बेग्लाबेग्लै कुराकानी गरिरहेका छन्’, स्रोतले भन्यो, ‘नेपाल पक्षका नेतासँग पनि संवाद चलिरहेको छ तर प्रगति भने हुन सकेको छैन।’ नागरिक दैनिकमा समाचार छ।