प्रधानमन्त्री ओलीसंगको कुराकानीमा कुनै प्रगती भएन – नेता नेपाल
९ वैशाख काठमाडौं। एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानीमा कुनै प्रगति नभएको बताएका छन्। राजधानीको मेरियट होटलमा बिहीबार प्रधानमन्त्री ओलीसँग भएको संवादपछि होटलबाट बाहिरिने क्रममा नेता नेपालले कुराकानीका क्रममा कुनै प्रगति भएको बताएका हुन्।
उनले भने, ‘कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन।’ आज पनि दुई नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो। बुधबारको संवादपछि दुवै नेताहरु प्रसन्न मुद्रामा बाहिरिए पनि कुराकानीका क्रममा सहमतिनजिक पुग्न नसकेको बताइएको थियो।
ओली र नेपालबीच आज भएको संवाद पार्टी एकता जोगाउन निर्णायक हुने अपेक्षा लिइएको थियो। तर नेता नेपालले अध्यक्ष ओलीसँग कुरा मिल्ने सम्भावना कम रहेको प्रतिक्रिया दिएका छन्। उनले भने,’ मिल्ने सम्भावना पनि देखिएको छैन। अब छलफल कहिले हुन्छ थाहा छैन।’
नेता नेपालले अब कहिले बैठक बस्छ भन्ने कुनै टुंगो नलागेको छ र ठेगान पनि नभएको बताए। ओलीले नेतानेपालसँग गत फागुन २८ गतेको निर्णय अक्षरशः पालना गर्नुपर्ने अडान राखेको बुझिएको छ। छलफलका क्रममा ओलीले पुस ५ पछिका कमिटीहरु पनि मान्नुपर्ने पनि बताएका थिए। जवाफमा नेता नेपालले ती निर्णय मान्न नसकिने बताएको स्रोतको भनाइ छ।
‘उहाँहरूबीच वार्ता सकारात्मक भइरहेको छ किनकी दुबै नेता पार्टी फुटाउन चाहनुहुन्न,’ दुगडले भने। दुगड बुधबार पनि ओली-नेपाल वार्ता हुँदा मेरियट होटलमै थिए। ‘तपाईं यो वार्ताको सहजकर्ता हो ?’ भन्ने प्रश्नमा उनले आफू दर्शक दीर्घामा बस्नमात्र आएको प्रतिक्रिया दिए।