नक्कली एमालेका अध्यक्ष ओली हुन् – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १४ २०७८
2.6K
SHARES

१४ वैशाख नवलपरासी।आज  नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नक्कली एमाले भएको बताएका छन्। आफू पक्षीय कार्यकर्ता भेलामा नेपालले केपी ओली नक्कली एमालेको अध्यक्ष भएको आरोप लगाएका हुन्।

सक्कली एमाले आफूहरू रहेको उनको दाबी छ। ओलीबाट कम्युनिस्ट आन्दोलन समाप्त हुने उनले बताए। नेपालले भने, ‘सक्कली एमाले हामी हौं, केपी ओली नक्कली एमालेका अध्यक्ष हुन्। उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गरिरहेका छन्।’ नेपालले अबको बाटो के भन्ने प्रस्ट पारेनन्। तर आफूहरू एमालेको पुनर्गठन अभियानमा रहेको बताए।

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युँताएपछि सुरु भएको एमालेभित्रको विवाद समाधान हुन सकेको छैन। एमाले अध्यक्ष ओली र नेता नेपालबीच लगातार दुई दिन भेटवार्ता भए पनि पार्टी विवाद समाधानमा ठोस सहमति नबनेपछि एमालेका दुवै समूह पार्टीमा छुट्टाछुट्टै गतिविधि गरिरहेका छन्। एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहले देशभर समानान्तर कमिटीको अभ्यास गरिरहेको छ।

ओली र नेपालबीच लगातार दुई दिन भेटवार्ताबाट विवाद समाधानमा ठोस सहमति नबनेपछि संस्थापन मानिने ओली समूहले पनि खनाल-नेपाल समूहका नेताबाहेकका कमिटी गठन प्रक्रिया थालेको छ। ओलीले पार्टीभित्र असन्तुष्ट खनाल-नेपाल पक्षलाई बाहिर राखेर शुक्रवार स्थायी कमिटी पुनर्गठन गरेका छन्।

केन्द्रीय कमिटी विघटन गरेर दशौँ महाधिवेशन आयोजक कमिटी बनाएका ओलीले स्थायी कमिटी पुनर्गठन गरेर धेरै नेतालाई चकित पारेका छन्। यससँगै लामो समयदेखि विवादमा अल्झिएको एमाले विवाद अब आखिरी चरणमा प्रवेश गरेको छ। खनाल-नेपाल समूहले देशभर समानान्तर गतिविधि चलाउने र ओली समूहले असन्तुष्ट पक्षका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने तथा उनीहरूलाई हटाएर कमिटी पुनर्गठन गर्ने शृंखला तीव्र भएसँगै एमाले एकता जोखिममा परेको छ। दुवै पक्ष आ-आफ्नो कमिटीको होडबाजीमा जुटेपछि एमाले संकट झन्झन् गहिरो बन्दै गएको छ।

उनले आफू पक्षीय दशौँ केन्द्रीय आयोजक कमिटीका नेताहरूको जिम्मेवारीसमेत तोकेका छन्। असन्तुष्ट पक्षका नेता नेपालसँग लगातार दुई दिनसम्मको छलफलपछि ओलीले चालेको यो कदमले एमाले विभाजनउन्मुख बनेको छ। एमालेका दुवै समूहले एक-अर्कोमाथि पार्टी विभाजनको गतिविधि गरिरहेको आरोप लगाएका छन्। ओलीको पछिल्लो कदमले आफूहरूले गरिरहेका पार्टी पुनर्गठनका कामलाई कुनै असर नपार्ने खनाल-नेपाल समूहको भनाइ छ।