ओलीलाई समर्थन गर्न सकिँदैन – अध्यक्ष यादव
१६ वैशाख काठमाडौं। आज जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेको प्रतिक्रिया दिएका छन्।
बुधबार मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको सरकारले मुद्दा चलाएको र अहिले आएर ओली नेतृत्वकै सरकारले फिर्ता लिएर गल्ती स्वीकार गरेको बताए।
मधेसका माग भने अझै पूरा नभएको यादवको भनाइ छ। उनले भने, ‘अहिले जति पनि मुद्दा फिर्ता गरिएको छ, त्यो प्रशासनिक कार्य हो, गलत मुद्दा लगाइएका कारण ती फिर्ता हुनैपर्ने थियो, तर त्यसलाई मधेसको माग भन्दै प्रधानमन्त्रीले मधेसी जनतालाई भ्रममा पार्ने काम भइरहेको छ।’