ओलीउपर संकटः एमाले सांसदहरुको राजीनामासंगै अविश्वास प्रस्ताव
२३ वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ ।
ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आंकलन गरिएकाले त्यसलाई चिर्न अगाडि नै अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ ।
कांग्रेस, एमाले (खनाल–नेपाल), माओवादी केन्द्र र जसपाका नेताहरूबीच बुधबार छुट्टाछुट्टै छलफल भएको थियो । छलफलमा एमाले नेता नेपालले आफूहरू २७ गतेअघि नै सामूहिक राजीनामा दिन तयार भएको सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका थिए भने देउवाले पनि आफ्ना प्रतिनिधिहरू पठाएर अहिले एमालेभित्र सांसदहरूको स्थिति बुझेका थिए ।
‘अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपतिसमक्ष समावेदन गर्ने गरी अघि बढौं भनेर छलफल चलाएका छौं, एमालेका साथीहरूले राजीनामा दिने कुरा गर्नुभएको छ, त्यसो हुँदा हाम्रो पक्षमा सजिलै संख्या पनि पुग्छ,’ स्रोतले भन्यो, ‘अविश्वासको प्रस्ताव र एमाले सांसदहरूको राजीनामा सँगसँगै आउन सक्छ ।’
अविश्वासको प्रस्ताव दर्ता गराए त्यसमाथि छलफल गर्न प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ । नत्र प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा आउने परिणामसँगै प्रतिनिधिसभा अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने र अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने योजना बनाएको आशंका विपक्षीको छ ।
‘ओलीको यो कदम रोक्नुपर्ने विषयमा हामीबीच जोडदार छलफल भइरहेको छ, निष्कर्ष निस्किएको छैन,’ जसपाका एक नेताले भने ।- कान्तिपुर दैनिकबाट