आज मनोनयन दर्ता, के बादलले देलान् त उम्मेद्वारी ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
2.6K
SHARES

२४ वैशाख काठमाडौं। वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो। माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो। मतदान ६ गते हुनेछ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेत २३८ गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।

विपक्षी दल कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहले संघीयताका जानकार खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै, सत्तारुढ दल एमाले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ ।

थापालाई उम्मेदवार बनाउँदा जित्न सक्छन् कि सक्दैनन् भनेर एमालेले मतको आन्तरिक हिसाबकिताब गरिरहेको छ । एमाले स्थायी कमिटीको बिहीबारको बैठकमा यो विषयमा पनि कुराकानी भएको थियो । थापाले जित्ने सुनिश्चितता नदेखिए एमालेले अर्को उम्मेदवार खडा गर्ने सम्भावना छ।

त्यसैगरी, लुम्बनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन जेठ १७ मा हुँदै छ। त्यसका लागि जेठ १ देखि ९ सम्मको निर्वाचन कार्यतालिका आयोगले तयार गरेको छ । राजधानी तोकिएको दाङमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ।- कान्तिपुर दैनिकबाट