नयाँ सरकार निर्माणमा जसपा संलग्न हुँदैन – अध्यक्ष ठाकुर
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी नयाँ सरकार निर्माणमा संलग्न नहुने बताएका छन्। सोमबार जारी विज्ञप्तिमा ठाकुरले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका वार्ता सकारात्मक तथा कार्य–प्रगतिसमेत भइरहेकाले आफू अर्काे सरकारका पक्षमा नरहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा जसपा सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य पार्टीको उद्देश्यविपरीत हो भनिएको छ।
यस्तै यस्तो कार्य मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्दै त्यसबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ, भनिएको छ। जारी विज्ञप्तिमा ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गरेका छन्। सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन्।
यसैले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै राति आह्वान गरिसकेकी छन्। दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पु¥याई नयाँ सरकार गठन गर्नुपर्नेछ।
यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष) ले तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने सोमबार मध्यराति विज्ञप्ति जारी त्यसको विरोध गरेका हुन्। सोमबार दिउँसो संसदमा पनि जसपाकै डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए। जसपामा भट्टराई–यादव ओलीको तीव्र विरोधमा छन् भने ठाकुर समर्थनमा छन्।
यस्तो छ विज्ञप्ति :
