यस्तो आयो प्रचण्ड, यादव र देउवाबीच छलफलबाट निष्कर्ष
२८ वैशाख काठमाडौं।आजबाट विपक्षी दलका शीर्ष नेताहरुले नयाँ सरकार गठनका लागि सक्रियता बढाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेपछि नेताहरुले सक्रियता बढाएका हुन्।
गठबन्धनको सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल जारी छ। तीन दलका अध्यक्षहरूबीच आज देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको छ। कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच बुढानिलकण्ठमा करिब एक घण्टा छलफल भएको छ।
‘उहाँहरूबीच करिब एक घण्टा कुराकानी भयो। समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल केन्द्रीत रह्यो, थप छलफल गर्दै जाने भन्ने छ,’ स्रोतले भन्यो। छलफलमा कांग्रेसका तर्फबाट देउवासहित महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक सहभागी थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत जुटाउन सकेका थिएनन्। ओली स्वत: पदमुक्त भएका छन्। ओलीको पक्षमा ९३ मतमात्रै आएको थियो जबकी बहुमतका लागि १३६ सांसद चाहिन्थ्यो। एमालेकै नेता माधव नेपाल पक्षका २८ सांसदले ओलीलाई मत दिएनन् भने विपक्षमा १२४ मत परेको थियो।
साथै राष्ट्रपतिले सोमबार बेलुकी दलहरूलाई नयाँ सरकार गठनका लागि बिहीबारसम्म समय दिएकी थिइन्। यसैबीच कांग्रेस सभापति देउवाले नयाँ गठबन्धनसहित सरकार गठन गर्ने अग्रसरता देखाएका छन्।
प्रचण्ड र उपेन्द्रसँग छलफल गरेका देउवाले आज अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक पनि राखेका छन्। जसपाभित्र नयाँ सरकारबारे भने विवाद देखिएको छ। अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टी वैकल्पिक सरकार निर्माणमा नलाग्ने भन्दै सोमबार राति विज्ञप्ति जारी गरेका छन्। तर सोमबार नै अर्का अध्यक्ष यादवले भने नयाँ सरकार गठनका लागि आह्वान गर्न देउवा र प्रचण्डसँगै मिलेर संयुक्त विज्ञप्ति जारी गरेका थिए।