पार्टीमा बावुरामले यस्तो भने, अब के होला ?
१ जेठ काठमाडौं। आज जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले सहमति बिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको छ। जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले शुक्रबार पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको थियो।
संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर-महतो पक्षको दाबी छ। महतोलाई दलको नेता घोषणा गरेपछि त्यस विषयमा छलफल गर्न भट्टराई-यादव पक्षले शनिवार पार्टीको कार्यकारिणी समिति बैठक बोलाएको थियो। पार्टी कार्यालय बबरमहलमा बसेको सो पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको विषयमा औपचारिक जानकारी नभएको भन्दै सहमति बिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको हो।
बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा.भट्टराईले संसदीय दलको विधानको प्रक्रिया पुरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने बताए। नेता चयनका बारेमा दुवै पक्षले सहमति गर्नुपर्ने अहिलेको व्यवस्था रहेको उनले जानकारी दिए। यस विषयमा छिटै कार्यकारिणी बैठक बसेर छलफल गरिने भट्टराईले बताए।