यस्तो भने कार्यदल निमार्णपछि नेता रावलले
३ जेठ काठमाडौं । नेकपा एमालेका नेता एवं सो पार्टीद्वारा गठित विवाद समाधान कार्यदलमा माधव पक्षको नेतृत्व गरेका नेता भीम रावलले पार्टी र देश हितका निम्ति कार्यदलले प्रयास गर्ने बताएका छन् ।
नेकपा एमालेको पुनर्जीवनपछि आफूले नवौ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणालीअनुरूप ०७५ जेठ २ अघिको स्थितिमा एकताबद्ध रूपमा अघि बढ्नुपर्छ भनेको र अब त्यहीअनुसार अघि बढ्ने उनको भनाइ छ ।
‘०७५ जेठ २ अघिको स्थितिमा एकताबद्ध रुपमा अघि बढ्नुपर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ । कार्यदलमा पार्टीको एकता र हित एवं देशहित निम्ति पूरा प्रयास हुनेछ,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।
०७५ जेठ २ मा पार्टीलाई फर्काउन सहमत एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालले आइतबार जारी विवाद समाधानका लागि दुवै समूहका ५–५ जना सम्मिलित कार्यदल गठन गरेका छन् । कार्यदललाई ३ दिनको कार्यादेश दिइएको छ । यसले एमाले विवाद समाधानको उपाय सुझाएर प्रतिवेदन दिनेछ ।