डा. भट्टराईले सबै पार्टीहरू प्रति लगाए यस्तो आरोप
४ जेठ काठमाडौं।आज जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ गएको बताएका छन्। कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश गम्भीर संकटमा फस्न लागेको डा. भट्टराईले बताए।
‘देश गम्भीर संकटमा फस्दैछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न वैकल्पिक सरकार बन्न।’ भट्टराईले आफूले गरेको राष्ट्रिय एकताको कुरामा विरोधको कुनै तुक नभएको पनि बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पछिल्लो सरकार गठनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक भेटेको आरोप लागेपछि उनले राष्ट्रिय एकताको कुरा गरेर आफूले अपराध नगरेको प्रतिक्रिया दिए।
भट्टराईले अगाडि लेखेका छन्, ‘संविधानका स्तम्भ एक एक गरी ढल्दैछन्! सबै पार्टी/नेता निरीह! सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’