गण्डकीमा मन्त्रिमण्डल विस्तार हुदै , यी नेता मन्त्री बन्दै
५ जेठ काठमाडौं । आज गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रदेश संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा हालै मुख्यमन्त्रीमा पुनर्नियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत २९ वैशाखमा मुख्यमन्त्री पदको शपथ लिएका थिए।
मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार आज मुख्यमन्त्री गुरुङले अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र खेलकुदमन्त्री दीपक मनाङेलाई दोहोर्याउने सम्भावना छ।
नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि यी मन्त्रीहरु नियुक्त गर्न लागिएको हो। यद्यपि, मुख्यमन्त्री चयन भएको १ महिनाभित्रमा गुरुङले प्रदेश संसदको विश्वासको मत लिनुपर्नेछ।
यसअघि गण्डकी प्रदेशको मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्रालय नरदेवी पुनमगर, पर्यटन विकास लम्साल, आर्थिक किरण गुरुङ र माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि कृषि मन्त्रालय मुख्यमन्त्री आफैंले र कानून मन्त्रालय रामशरण बस्नेतलाई जिम्मा दिएका थिए।