संसद विघटनपछि नेतृ झाँक्रीले पोखिन यस्तो आक्रोस


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८
11.6K
SHARES

८ जेठ काठमाडौ ।आज नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले पदको मर्यादा कायम गर्न नसकेको बताएकी छिन् । विहीबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामा पनि नदिई धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि आह्वान गरेपछि उक्त कदमको नेतृ झाँक्रीले विरोध गरेकी हुन् ।

संविधानको धारा ७६(३) को प्रधानमन्त्रीले ३० दिन भित्र अनिवार्य ७६(४) अनुसार विश्वासको मत लिनुपर्छ, विहीबार साँझ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, यदि प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिन्न भन्ने लाग्छ भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । र बल्ल अर्को सरकार बन्ने आधार बन्छ ।

उनले अगाडि लेखेकी छिन्, एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको आह्वान गर्नु राष्ट्रपतिले पदीय मर्यादा कायम गर्न नसक्नु हो, संविधानको उल्लंघन हो । नेकपा एमालेबाट सांसद समेत रहेकी झाँक्रीले संविधानको व्यवस्था कुल्चने अधिकार राष्ट्रपति र प्रधानमन्त्री कसैलाई पनि नभएको टिप्पणी गरेकी छिन् ।

हाम्रो देशको राष्ट्रप्रमुख संविधानको संरक्षक र कानुनको परिपालक हो, उनी लेख्छिन्, संसदबाट अर्को सरकार बन्ने अवसर समेत नदिई मिलेमतोमा संसद विघटन र मध्यावधि चुनाव गर्न चाहने प्रधानमन्त्रीको कदम यो महामारीमा खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, आईसीयु, भेन्टिलेटर नपाएका जनताको पीडा कहाँ जोडिन्छ ?

उनको थप प्रश्न छ, महामारीमा मध्यावधि चुनाव गर्ने हो कि? जनताको स्वास्थ्यमा ध्यान दिने हो? जवाफदेही हुनुपर्दैन ?